विरङ्गना रूथ र उनमा लुकेको सामर्थ्य

by दबोरा दाहाल, भैँसेपाटी

                             

२३ जेठ,काठमाडौं । पवित्र बाइबलको पुरानो नियममा रहेको "रूथको पुस्तक" केवल ऐतिहासिक वृत्तान्त मात्र होइन तर एक साहसी स्त्रीको समर्पण, निष्ठा र आन्तरिक सामर्थ्यको दस्तावेज हो। चार अध्यायमा समेटिएको यो सानो तर प्रभावशाली पुस्तक बाइबलमा महिला दृष्टिकोणबाट वर्णित एक अनुपम उदाहरण हो। यसमा प्रस्तुत गरिएको पात्र रूथ मोआबी थिइन् तर उनले देखाएको विश्‍वास, कर्तव्यबोध र साहसले उनलाई इस्राएली इतिहासमा एक महान् स्थान दिलाएको छ। उनको जीवनकथा नारी नेतृत्व, पारिवारिक मूल्य र परमेश्वरप्रतिको अटुट भरोसाको प्रेरणादायी प्रतिमूर्ति हो।


१. संघर्षको सुरुवात र निष्ठाको प्रतिज्ञा

रूथको कथा दु:खद घटनाबाट सुरु हुन्छ। उनकी सासू नाओमीले श्रीमान् एलिमेलेकका साथ दुई छोराहरू महलोन र किल्योनलाई पनि गुमाउँछिन्। रूथ पनि आफ्ना पति किल्योनको मृत्युबाट विधवा बन्छिन्। नाओमीलाई यस परिदृश्यले विक्षिप्त बनाउँछ। एक ममतामयी आमालाई आफ्ना दुबै छोराहरू गुमाउनुपर्दा कति गाह्रो भएको होला, हामी सहजै अनुमान गर्न सक्छौँ। सायद आफ्नो शोक तथा विक्षिप्त अवस्थालाई व्यवस्थापन गर्न नाओमीले आफन्तहरूको बिचमा आफ्नो जन्मथलो बेतलेहेम फर्कने निश्चय गर्छिन्। उनले दुःखी मनले दुवै बुहारीहरूलाई आ-आफ्नो बाटो लाग्न भन्छिन्। तर रूथले ऐतिहासिक वचन दिन्छिन्:

"रूथले जवाफ दिइन्, "मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।" (रूथ १:१६)

यो वचन केवल पारिवारिक प्रेमको अभिव्यक्ति होइन, एक आध्यात्मिक निर्णय पनि हो। मोआब राष्ट्रकी भए पनि रूथले इस्राएली परमेश्वरलाई स्वीकार गरिन्। यहाँबाटै उनको लुकेको सामर्थ्य प्रकट हुन थाल्छ, संकटमा पनि निःस्वार्थ भइ अटुट समर्पण देखाउने शक्ति!


२. नारीको श्रम र गरिमामय जीवन

बेतलेहेम आइपुगेपछि रूथ गरीब र विधवा भएका कारण किसानहरूका खेतमा बालीनाली टिप्न जान्छिन्। इजरायली परम्पराअनुसार गरीब, विधवा र परदेशीहरूका लागि सिलाबाला बाँकी राखिन्थ्यो। रूथ खेतमा श्रम गर्दै गर्दा उनी बोअजको नजरमा पर्छिन्। बोअज, जो नाओमीको नातेदार थिए, रूथको निष्ठा र परिश्रम देखेर प्रभावित हुन्छन्।

रूथको कार्यशीलता केवल आर्थिक संकट समाधान गर्ने उपाय होइन, आत्मसम्मानसहितको जीवनयापनको एक उदाहरण हो। उनले देखाएको मेहनत, इमानदारी र नम्र व्यवहार आजका समाजमा पनि प्रेरणादायी छ। खासगरी, शोषणको डर र असुरक्षाको बाबजुद एक नारीले गरिबीमा पनि आफ्नो परिवारका लागि गरिरहेको योगदान उनमा लुकेको सामर्थ्य हो।

३. नारी नेतृत्व र योजना

रूथको सासू नाओमीले परिवारको भविष्यको चिन्ता गर्दै बोअजसँग वैवाहिक सम्बन्ध जोड्न सुझाउँछिन्। रूथ नाओमीको योजनामा सहमत हुन्छिन् तर उनले त्यो प्रस्ताव राख्ने तरिका पूर्ण शुद्धता, विनम्रता र समझदारीसाथ गर्छिन्। यस घटनाले देखाउँछ कि रूथ केवल अनुगमन गर्ने पात्र होइनन्, तर परिस्थितिको सूक्ष्म समझदारी राख्ने, निर्णय गर्न सक्ने र सही कदम चाल्न सक्ने एक महान् पात्र हुन्।

यद्यपि बोअजसँगको विवाहको प्रस्ताव सांस्कृतिक रूपमा जोखिमपूर्ण थियो, रूथले त्यो साहससाथ गरिन्। यो घटनाले महिलाको निर्णय क्षमता, रणनीतिक सोच र आत्मसम्मानयुक्त पहल देखाउँछ। उनका यी गुणहरू नारी नेतृत्वमा लुकेको सामर्थ्यको परिचायक हुन्।

४. परमेश्वरको योजनामा रूथको ऐतिहासिक स्थान

रूथ र बोअजको विवाहबाट ओबेद जन्मिन्छन्, जो यिसैका पिता र राजा दाउदका हजुरबुबा हुन्। यसरी रूथले इस्राएलको सबैभन्दा प्रसिद्ध राजाको वंशमा स्थान पाउँछिन्। यस तथ्यले देखाउँछ कि परमेश्वरले राष्ट्र, जात, लिङ्ग हेर्नुहुन्न जो विश्वास र निष्ठाका साथ अगाडि बढ्छ, उनलाई आफ्नो योजना अनुसार निर्माण गर्नुहुन्छ।

रूथ विदेशी थिइन् तर उनको जीवन, आचरण र विश्वासका कारण मसीहको वंशावलीमा पनि स्थान पाइन् (मत्ती १:५)। यो कुराले देखाउँछ कि लुकेको सामर्थ्य जब विश्वास र समर्पणसँग जोडिन्छ, त्यो इतिहास बनाउने शक्ति बन्छ।

रूथको कथा नारी सशक्तीकरणको धार्मिक आधारशिला हो। उनको जीवनमा विवशता थियो, तर उनी नै नायक बनिन्। उनको लुकेको सामर्थ्य केवल शारीरिक श्रममा थिएन, त्यो आत्मिक दृढतामा, पारिवारिक कर्तव्यबोधमा र विश्वासको स्थायित्वमा थियो। आजका विशेषगरी पीडित, गरिब र परित्यक्त स्त्रीहरूका लागि रूथको जीवन शक्ति, आशा र लक्ष्यको स्रोत हुन सक्छ।

रूथको सामर्थ्य चिच्याएर देखिने खालको थिएन; त्यो मौन तर प्रभावशाली थियो। साँचो विरङ्गनाको चिनारी यही हो।


प्रतिक्रिया