नेपाल धर्मशास्त्रीय शिक्षा संघ – प्रेरणादायी गन्तव्य एटेन पुस्तकालय

by


                                                                             नेपाल धर्मशास्त्रीय शिक्षा संघ – प्रेरणादायी गन्तव्य एटेन पुस्तकालय


२६असार, काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एटेन पुस्तकालय नेपालकै एक अग्रणी ख्रीष्टियन धर्मशास्त्रीय अध्ययन केन्द्रको रूपमा स्थापित छ। शैक्षिक तथा आध्यात्मिक यात्राका लागि दिशानिर्देशकको भूमिका खेल्दै आएको यो पुस्तकालय धर्मशास्त्र सम्बन्धी अनुसन्धान अध्ययनमा समर्पित एक ऐतिहासिक प्रतिष्ठित संस्था हो।

स्वर्गीय डा. रमेश खत्रीद्वारा सन् १९९३ मा स्थापित एटेन पुस्तकालयले नेपाली ख्रीष्टियन समुदायमा ज्ञानको ज्योति फैलाउने कार्यको थालनी गर्‍यो। अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली ख्रीष्टियन व्यक्तिका रूपमा डा. खत्रीले अक्सफोर्डको प्रसिद्ध Bodleian Library बाट प्रेरणा लिई नेपालमा उस्तै खालको पुस्तकालयको परिकल्पना गर्नुभयो। आज सो परिकल्पना साकार भई एटेनको रूप लिइसकेको छ।

सुरुआतमाएसोसिएसन फर बाइबल एजुकेसन इन नेपालको नामबाट, United Mission to Nepal International Nepal Fellowship को सहकार्यमा सानो कोठाबाट सुरु गरिएको यो पुस्तकालय आज आफ्नै भवनमा आधुनिक पूर्वाधारसहित सञ्चालित हुँदै आएको छ।


एटेन पुस्तकालयमा हाल २८ हजार भन्दा बढी पुस्तकहरु रहेका छन्, जसमा करिब ८० प्रतिशत पुस्तकहरु ख्रीष्टियन धर्मशास्त्रसँग सम्बन्धित छन् भने २० प्रतिशत अन्य विषयगत पुस्तकहरु छन् । यसमध्ये ८५ प्रतिशत पुस्तकहरु अन्तर्राष्ट्रिय लेखकहरुद्धारा लिखित हुन् भने १५ प्रतिशत नेपाली लेखकहरुका रचना हुन् ।  पुस्तकालयले ख्रीष्टियन मात्र नभई गैर-ख्रीष्टियन अध्ययनशील पाठकहरूलाई पनि समान अवसर उपलब्ध गराउँदै आएको छ।

वार्षिक रूपमा करिब ७५ हजार पाठकहरू यहाँ अध्ययनका लागि आउने गरेका छन्। अध्ययनमैत्री वातावरणका साथै यहाँ बाइबल तालिम, लेखक प्रेरणा कार्यक्रम, छात्रवृत्ति वितरण  लेखन तथा अध्ययन गोष्ठीहरू समेत नियमित रूपमा आयोजना गरिन्छ। हालै ध्वनि-प्रतिरोधात्मक सभाहल निर्माण गरी विभिन्न शैक्षिक तथा आध्यात्मिक कार्यक्रमहरू सञ्चालन भइरहेको छ।

आजको पुस्ता मात्र नभई भोलिको पुस्ताका लागि समेत ज्ञान, सोच विश्वासको आधारशिला बनिरहेको एटेन पुस्तकालय, नेपालको शैक्षिक इतिहासमा एक प्रेरणादायी गन्तव्य बन्न सफल भएको छ।

प्रतिक्रिया