स्व.सानुमैया भण्डारीको स्मारिका विमोचन

by

 


काठमाडौँ, असोज ८,२०८२ काठमाडौँ , असोज ८ बुधबार राजधानीको बानेश्वरस्थित बुद्धनगरको एटेन लाइब्रेरी सेमिनार हलमा स्वर्गीय गुरुआमा सानुमैया भण्डारीको जीवन, सेवा र आध्यात्मिक योगदानमा आधारित स्मारिकाको विमोचन गरिएको छ।

कार्यक्रममा काठमाडौं उपत्यका भित्र र बाहिरका आफन्तजन, उहाँसँग सँगै सेवा यात्रामा हिँडेका समकक्षी, विभिन्न चर्चहरूका पास्टर तथा अगुवाहरूको उपस्थिति उल्लेखनीय रह्यो भने विभिन्न क्षेत्रमा क्रियाशील रहनुभएका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो।

कार्यक्रममा शुरूको प्रार्थना पास्टर बिजुली प्रधानले गर्नुभयो भने सञ्चालन पास्टर वर्णबास तितुङले गर्नुभएको थियो। मीन श्रेष्ठको नेतृत्वमा रहेको कोयर समूहले प्रस्तुत गरेका कोरस तथा भजनहरूले समारोहलाई स्तुति–प्रशंसामय वातावरणमा डोहोर्याएको थियो।नेपाल मेथोडिस्ट चर्चका वरिष्ठ पास्टर रेभ. रत्न चापागाईँले धर्मशास्त्रबाट प्रेरणादायी वचन बाँड्नुभयो। त्यसपछि प्रो.डा. हेमन्तराज शर्माद्वारा लिखित “क्रान्तिकारी नारी साधिका” शीर्षकको लेखलाई पास्टर विवेक गिरी र सुनैना कार्कीले मन्त्रमुग्ध तवरले वाचन गर्नुभयो।

स्मारिकाको विमोचन स्व. सानुमैयाका श्रीमान् पास्टर अर्जुन भण्डारीले आफ्ना चार छोरीहरूको उपस्थितिमा गर्नुभयो। कार्यक्रममा प्रो.डा. हेमन्तराज शर्मा, डोमा राई, एस्तर राई, सहसेनानी शम्भु भण्डारी, शान्ति खत्री, पास्टर पुरुषोत्तम कोइराला, श्रीकृष्ण गौतमलगायतका व्यक्तिहरूले स्व. गुरुआमा सानुमैया भण्डारीका बारेमा मन्तव्य राख्नुभयो भने छोरीहरू प्रो.डा. विपना भण्डारी र भावना भण्डारीले आमाको जीवनका विविध पाटोबारे आफ्ना विचार राख्नुभयो।

स्मारिकामा करिब ५४ जना लेखकहरूले स्व. भण्डारीसँगका आफ्ना अनुभव र सम्झनाहरू समेटेका छन्। उहाँका छोरा डा. विनायक भण्डारीले आमाका बारेमा “अत्यन्त धार्मिक, आस्थावान्, शिक्षा र नारी सशक्तीकरणकी नायिका, दानी हृदय र असल आमा”का रूपमा स्मरण गरेका छन्। पास्टर अर्जुन भण्डारीले आफ्नी पत्नीको जीवनबारे सम्झिँदै भन्नुभयो, “सानुमैया गुरुआमा नेवार समुदायमा जन्मनुभए पनि ब्राह्मण समुदायमा विवाह गर्नुभयो। जाति, भाषा र परम्परा फरक भए पनि आत्मिक भोक, चिन्तन र जीवनदृष्टि एउटै थियो।”

उहाँ सधैँ सुसमाचार प्रचार, प्रार्थना र सेवामा तल्लिन रहने व्यक्तित्व हुनुहुन्थ्यो। उहाँबाट प्रेरित भएर धेरै जना आज पास्टरीय सेवामा सक्रिय रहेको उल्लेख गर्दै उहाँको योगदानलाई उपस्थितहरूले उच्च मूल्याङ्कन गरेका थिए। मैथिली, भोजपुरी, अवधी भाषामा समेत प्रचार गर्न सक्ने क्षमता, साहित्य र रचनाप्रतिको रुचिले उहाँलाई बहुआयामिक व्यक्तित्वको रूपमा स्थापित गरेको थियो।

स्मारिकाको सम्पादन प्रो.डा. हेमन्तराज शर्माले गर्नुभएको हो भने प्रकाशन पास्टर अर्जुन भण्डारीले गर्नुभएको हो। आयोजकहरूको भनाइअनुसार, यो स्मारिका केवल सम्झनाको दस्तावेज मात्र नभई भावी पुस्ताका लागि आत्मिक प्रेरणाको स्रोत हुने छ।

कार्यक्रमको अन्त्यमा पास्टर अर्जुन भण्डारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यसपछि विशप मिनीकुमार राईले अन्तिम प्रार्थना गर्दै विमोचन समारोहलाई समापन गर्नुभयो।

प्रतिक्रिया