अनैतिक एजेन्डाविरुद्ध संयुक्त नागरिक पार्टीको खबरदारी सभा सम्पन्न

by


साउन ११, काठमाडौँ  । काठमाडौँ, माइतीघर मण्डलामा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र सहज गर्भपतनजस्ता विषयमा राज्यबाट वैधानिकता दिन खोजिएको भन्दै संयुक्त नागरिक पार्टीले  सर्वपक्षीय शान्तिपूर्ण खबरदारी सभा आयोजना गरेको छ । यस्ता विषयहरूमा राज्यबाट वैधानिकता दिन खोजिएको भन्दै संयुक्त नागरिक पार्टीको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सर्वपक्षीय शान्तिपूर्ण खबरदारी सभा सम्पन्न भएको हो ।


संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी गराएको थियो। विभाग प्रमुख तथा प्रवक्ता विदुर अधिकारी, नागरिक सरोकार नेपालका कार्यकारी प्रमुख जोमेश वडसहित अन्य वक्ताहरूले सभा मार्फत सर्वोच्च अदालतको एकल इजलासबाट सार्वजनिक बहस, संवाद वा विज्ञहरूको सुझावबिना नै समलिङ्गी विवाहलाई कानुनी दर्ताको बाटो खोलिएकोप्रति गम्भीर आपत्ति जनाउनुभयो ।।

उहाँहरूले गृह मन्त्रालयद्वारा स्थानीय निकायहरूलाई अस्थायी दर्ता गर्न जारी गरिएको परिपत्रप्रति पनि गहिरो चिन्ता व्यक्त गर्नुभएको हो । गर्भपतनसम्बन्धी कानुनी सहजता तथा पछिल्लो समय लिङ्ग परिवर्तनलाई वैधानिकता दिन गरिएको पहलसमेत उहाँहरूको विरोधको केन्द्रमा रह्यो। वक्ताहरूले यस्ता गतिविधिहरू नेपाली घरपरिवार, समाज, राष्ट्र, धर्म, नैतिकता र मानव अस्तित्वकै आधारभूत मूल्यहरूप्रति कुठाराघात भएको दाबी गर्नुृभयो ।

खबरदारी सभामा नागरिक सरोकार नेपाल, भ्रूणको आवाज, विभिन्न धार्मिक गुरुहरू, समाजसेवी संघसंस्था, सञ्चारकर्मी, बुद्धिजीवी तथा नागरिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत जनभावना, धार्मिक विश्वास तथा सांस्कृतिक मान्यताहरूको संरक्षणका लागि राज्य र सम्बन्धित निकायहरूमाथि दबाब सिर्जना गर्ने प्रयास गरिएको आयोजकहरूले जनाएका छन्।

संयुक्त नागरिक पार्टीले सम्पूर्ण नागरिक समाज, धार्मिक समुदाय, सामाजिक अभियन्ता, सञ्चारकर्मी, युवा तथा विद्यार्थीहरूलाई आगामी दिनमा पनि यस्ता विषयमा सचेत रहन र सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

प्रतिक्रिया