२५ जेठ, काठमाडौं । बाइबल अनुसार पेन्तिकोसको चाड (Pentecost) एक महत्त्वपूर्ण इसाई पर्व हो जुन नयाँ नियममा प्रेरित २:१-४ मा उल्लेख गरिएको छ। पेन्तिकोस शब्द "पेन्टिकोस्टे (πεντηκοστή - pentēkostē)" भन्ने ग्रीक शब्दबाट आएको हो, जसको अर्थ हो "पचासौँ दिन"। यो पर्व इस्राएलीहरूको "शावोत" (Shavuot) भन्ने यहुदी चाडसँग मिल्दोजुल्दो छ जुन इस्राएलीहरूले इस्राएलमा पहिलो अन्न-बाली (अगौटेफल) परमेश्वरलाई अर्पण गर्ने दिनको रूपमा मनाउँथे (लेवी २३:१५–२१)। यो मूल रूपमा पुरानो नियमको "साताहरूको चाड" (Feast of Weeks) सँग सम्बन्धित छ (प्रस्थान ३४:२२)।
नयाँ नियममा, पेन्तिकोसको दिन पवित्र आत्मा प्रेरितहरू र पहिलो मन्डलीमाथि खनिएको दिनको रूपमा चिनिन्छ (प्रेरित २:१-४)। यसले इसाई मण्डलीको स्थापना र आत्मिक शक्तिको सुरुवातलाई चित्रण गर्छ। यसलाई "मण्डलीको जन्मदिन" पनि भनिन्छ।
नयाँ करारमा पेन्तिकोस्टको चाडको प्रमुख महत्त्व प्रेरित २ अध्यायमा वर्णन गरिएको छ। येशू स्वर्गारोहण भएको ५० दिनपछि (ईस्टरपछि) येशूका चेलाहरू यरुसलेममा प्रार्थना गर्दै थिए। त्यो दिन पवित्र आत्मा शक्तिशाली रूपमा आउनुभयो (प्रेरित २:१–४)। आगोको जिब्रा झैँ देखिने चिजहरू तिनीहरूको टाउकोमाथि आए र तिनीहरू विभिन्न भाषाहरूमा बोल्न थाले। त्यो दिन ३,००० मानिसहरू येशूमाथि विश्वास गरेर बचाइए (प्रेरित २:४१)।
नेपाली मन्डलीको दृष्टिकोण:
प्राय: नेपाली मन्डलीहरू जो सुधारवादी परम्परामा आधारित छन्, सामान्यतया पुरानो नियमका चाडहरू (जस्तै पेन्तिकोस वा हप्ताहरूको चाड) लाई अनिवार्य रूपमा मनाउनुपर्छ भन्ने मान्यता राख्दैनन् किनकि यी चाडहरू मोसाको व्यवस्थासँग सम्बन्धित छन् जुन ख्रीष्टको आगमनले पूरा गरेको छ (कलस्सी २:१६-१७)। यद्यपि, धेरै नेपाली मन्डलीहरूले नयाँ नियमको पेन्तिकोसलाई पवित्र आत्माको आगमन र मण्डलीको स्थापनाको स्मरणको रूपमा महत्त्व दिन्छन्। उनीहरूले यसलाई औपचारिक चाडको रूपमा नभई आत्मिक महत्त्वको स्मरणको रूपमा प्रायः प्रवचन, प्रार्थना र पवित्र आत्माको कार्यलाई मनन गर्दै सङ्गति गरेर मनाउन सक्छन्।
के यो चाँड सबै मन्डलीहरूले मनाउन मिल्छ?
निश्चय नै! प्रोटेस्टेन्टहरू विशेष गरी हाम्रोजस्तो स्वतन्त्र मन्डलीहरूले पेन्तिकोसलाई मनाउन सक्छन् तर यो अनिवार्य भने छैन। हामी मन्डली परम्पराले स्वतन्त्रताको सिद्धान्तलाई जोड दिन्छौँ (रोमी १४:५-६), जहाँ यस्ता पर्वहरू मनाउनु व्यक्तिगत वा मण्डलीको विवेकमा निर्भर गर्दछ, जबसम्म यो बाइबलको सत्यसँग मेल खान्छ र ख्रीष्टलाई महिमा दिन्छ। कतिपय मन्डलीहरूले पेन्तिकोसलाई विशेष उपासना सेवाको रूपमा स्मरण गर्छन्, तर यो क्याथोलिक वा परम्परागत इसाईहरूको जस्तो औपचारिक चाडको रूपमा नहुन सक्छ।
पेन्तिकोस बाइबलमा पवित्र आत्माको आगमनसँग सम्बन्धित महत्त्वपूर्ण घटना हो भने मन्डलीको आरम्भको ऐतिहासिक र आध्यात्मिक रूपले अत्यन्त महत्त्वपूर्ण दिन पनि हो।
यो हाम्रो मन्डलीको सिद्धान्त वा दृष्टिकोणले यसलाई अनिवार्य चाडको रूपमा मनाउनुपर्छ भन्ने बाध्यता राख्दैन तर यसको आत्मिक महत्त्वलाई स्मरण गर्न मन्डलीमा प्रार्थना सङ्गतिको आयोजना गर्न सकिन्छ।
पेन्तिकोस कुनै लिटर्जिकल "चाड" मात्र नभएर मन्डली र पवित्र आत्माको कार्यसम्बन्धी एक महान् यथार्थ हो। हाम्रो मन्डलीको दृष्टिमा त्यो घटनालाई अनुग्रह, आत्माको कार्य र सुसमाचार प्रचारको प्रारम्भका रूपमा गहिरो सम्मान दिने तर "चाड"को रूपमा बाध्यकारी रूपमा मनाउने प्रथा भने छैन। प्रोटेस्टेन्टहरूले आफ्नो विवेक र मण्डलीको परम्पराअनुसार यो मनाउन स्वतन्त्र छन्।