एटेन पुस्तकालयद्वारा साधारण सभा सम्पन्न

by


२०८२ साउन १८, आइतबार,  काठमाडौं— नेपाल धर्मशास्त्रीय शिक्षा संघ (एटेन) अन्तर्गत सञ्चालित एटेन पुस्तकालयले आइतबार आफ्नो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित एटेन पुस्तकालय भवनको हलमा आयोजना गरिएको सो सभामा पुस्तकालयका वार्षिक गतिविधिहरू, प्रगति र आगामी योजनाहरूको सन्दर्भमा व्यापक छलफल र प्रस्तुति गरिएको हो ।

कार्यक्रमको सुरुवात एटेन पुस्तकालयकी कार्यकारी निर्देशक सुश्री एस्तर राईबाट प्रार्थना तथा स्वागत मन्तव्यद्वारा गरिएको थियो। त्यसपछि पाष्टर प्रितम् थिगंबाट आराधना गरियो भने उपाध्यक्ष पाष्टर रुबेन पाख्रिनले परमेश्वरको वचनबाट सभा उजागर गर्नुभयो।

त्यसपछि श्रीमती चाँदनी राईले विभिन्न राष्ट्रिय तथा संस्थागत विषयहरूमा विशेष प्रार्थना सञ्चालन गर्नुभयो । सोही अवसरमा डाक्टर तथा प्राध्यापक  हेमन्त दाहालले नेपालको सातवटै प्रदेशमा एटेन पुस्तकालयका शाखाहरू विस्तार गर्न सकियोस् भन्ने लक्ष्यसहित प्रार्थनाका लागि आह्वान गर्नुभयो।

कार्यकारी निर्देशक राईले बैठकको निर्णय विवरण प्रस्तुत गर्नुभयो भने पाष्टर शिमोन शाहले विगत वर्षको प्रगति प्रतिवेदन तथा आगामी वर्षको बजेट प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रमको अन्त्यतिर समितिकी सदस्य श्रीमती धन लामाले संस्था संविधान संशोधनबारे सुझाव तथा जानकारी गराउँदै ध्यानाकर्षण गराउनुभयो। अन्त्यमा समापन प्रार्थनासँगै साधारण सभा सम्पन्न गरिएको थियो।

साधारण सभामा एटेन पुस्तकालयसँग सम्बन्धित सदस्यहरू, प्रतिनिधिहरू तथा निमन्त्रणा गरिएका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया