२९ असार, ललितपुर । ईसाई आराधना (Worship) भनेको गीत-भजन गाउने वा प्रार्थना गर्ने काम मात्र नभएर यो परमेश्वरप्रतिको सम्पूर्ण समर्पण र उपासनाको अभिव्यक्ति हो। इसाई आराधना बाइबलमा आधारित आत्मिक अनुशासन हो जसले परमेश्वरको महिमा र एक साँचो उपासक (मानिस) को प्रेममय समर्पणलाई व्यक्त गर्दछ।
बाइबलमा आराधनाका स्वरूपहरूमा स्तुति, धन्यवाद, प्रार्थना, भजन, उपदेश, अंगिकार र विश्वासको सहभागिता उल्लेख छन् (भजन ९५, प्रेरित २:४२–४७, कलस्सी ३:१६)। आराधनाको मूल उद्देश्य मानिसको आत्मालाई परमेश्वरसँग पुनः मिलाउने र समुदायभित्र आत्मिक एकता कायम गर्नु हो।
ईश्वरशास्त्रीय रूपमा आराधना ट्रिनिटारियन हो जुन पिता, पुत्र र पवित्र आत्माको सामूहिक उपस्थितिमा सम्पन्न हुन्छ। आराधना मानवको केन्द्रमा होइन, परमेश्वरको महिमा र कार्यको केन्द्रमा रहन्छ। यसैकारण, आराधना मनोरञ्जन होइन, परिवर्तनकारी उपस्थिति हो।
बाइबलमा आराधनाको गहिरो ईश्वरशास्त्रीय आधार छ, जसको मूल हिब्रु र ग्रिक शब्दहरूले यसको स्पष्ट अर्थ खोल्छन्।
हिब्रु शब्द "עֲבוֹדָה (अबोदा)" शब्दले सेवा र आराधना भन्ने बुझाउँदछ। पुरानो नियममा आराधनालाई "अबोदा" (शाब्दिक अर्थ: सेवा) भनिन्छ। यसले परमेश्वरलाई दिइने भक्ति र उपासनालाई जनाउँछ। यहुदी परम्परामा मन्दिरको बलिदान, प्रार्थना र व्यवस्थापालन आराधनाको अङ्ग थिए।
"व्यवस्था ६:१३ "तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।"
ग्रिक शब्द "प्रोस्कुनेओ" (προσκυνέω) को अर्थ समर्पण र श्रद्धा हो। नयाँ नियममा आराधनाको लागि "प्रोस्कुनेओ" शब्द प्रयोग गरिएको छ, जसको अर्थ "दण्डवत गर्दै नम्र हुनु" वा "आदर गर्नु" हो। युहन्ना ४:२३ मा येशूले भन्नुभयो, "सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्ने छन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। २४. परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।"
बाइबलले आराधनालाई ग्रीक शब्द λατρεία (latreia - Service/Worship) र हिब्रू शब्द שָׁחָה (shachah - Bow down/Worship) शब्द पनि चलाएको छ। जसले परमेश्वरप्रति श्रद्धा र समर्पणको कार्यको रूपमा वर्णन गर्दछ। यी शब्दहरूले उहाँप्रति हुने सेवा र परमेश्वरको उपस्थितिमा आत्मिक भक्ति व्यक्त गर्ने भावनालाई समेट्छन्। पुरानो नियममा आराधना मन्दिरकेन्द्रित थियो, जहाँ עֲבוֹדָה (avodah - Service/Worship) र תּוֹדָה (todah - Thanksgiving) को अभ्यास प्रचलित थियो। पुजाहारीहरूले बलिदान चढाउँथे र भजनसंग्रहमा תְּהִלָּה (tehillah - Praise) मार्फत परमेश्वरको महिमा गर्थे।
इसाई आराधना ख्रीष्टियन जीवनको मुटु हो। यो धार्मिक कार्यक्रम मात्रै होइन, आत्मा र सत्यतामा परमेश्वरसँगको प्रत्यक्ष सम्बन्धको गहिरो अभिव्यक्ति हो। आराधनाको मुल उद्देश्य परमेश्वरलाई उहाँको पवित्रता, प्रेम, अनुग्रह र उद्धारको कार्यका लागि महिमा दिनु हो। यहाँ येशूले स्पष्ट गर्नुहुन्छ कि साँचो आराधना πνεῦμα καὶ ἀλήθεια (pneuma kai aletheia - Spirit and Truth) मा हुनुपर्छ अर्थात् आराधना पवित्र आत्माको प्रेरणामा र परमेश्वरको सत्य वचनमा आधारित हुनुपर्छ।
नयाँ नियममा आइपुग्दा ख्रीष्टको बलिदानले आराधनालाई रूपान्तरण गरेको पाउँछौँ। यदि कुनै मण्डलीले परमप्रभुको महिमाका निम्ति आफूलाई तयार गर्दैन भने त्यो मृत मण्डली हो।
बाइबलमा आराधनाका विविध स्वरूपहरू छन्: ψαλμός (psalmos-Psalm/Praise), προσευχή (proseuche-Prayer) र κοινωνία (koinonia-Fellowship)। यी अभ्यासहरूले विश्वासीलाई परमेश्वरसँग र एकअर्कासँग जोड्छन्। प्रभु भोज (εὐχαριστία (eucharistia) (Thanksgiving), १ कोरिन्थी ११:२४) मार्फत ख्रीष्टको बलिदान स्मरण गरिन्छ जसले आत्मिक एकता र परिपक्वता प्रदान गर्दछ।
ईश्वरशास्त्रीय रूपमा इसाई आराधना ट्रिनिटारियन हो, जहाँ पिता, पुत्र र पवित्र आत्मा Θεός (Theos-God), Χριστός (Christos-Christ), Πνεῦμα Ἅγιον (Pneuma Hagion-Holy Spirit)) को उपस्थितिमा सम्पन्न हुन्छ। इसाई आराधना मनोरञ्जन नभई परिवर्तनकारी भेट हो जसले मानव हृदयलाई परमेश्वरको महिमा (δόξα (doxa-Glory)) तर्फ केन्द्रित गर्छ। उहाँको देह/शरीर (σῶμα-soma/Body रोमी १२:१) जीवित बलिदान बनेपछि आराधना स्थान वा परम्परामा सीमित रहेन। अब विश्वासीहरूले हरेक ठाउँमा आत्मा र सत्यतामा आराधना गर्न सक्छन्। रोमी १२:१ अनुसार, आराधना जीवनको सम्पूर्णता हो वा जीवित बलिदानको रूपमा आफूलाई चढाउनु नै आराधना हो।
इसाई आराधनाले विश्वासीलाई ख्रीष्टको शरीरमा बलियो गरि निर्माण गराउँदछ। हरेक इसाईको जीवनमा प्रभु भोज, प्रवचन र संगतिमार्फत आत्मिक वृद्धि हुन्छ। यो शनिबारको कार्यक्रम मात्र नभई निरन्तर गरिरहने जीवनशैली हो, जसलाई १ कोरिन्थी १०:३१ ले संक्षेपमा व्यक्त गर्छ: "यसकारण ....तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।" यसरी इसाई आराधना परमेश्वर र मानिसबिचको आत्मिक सम्बन्धको जीवन्त अभिव्यक्ति बन्नु पर्दछ। यही नै साँचो बाइबलीय आराधना हो।