हामी किन सञ्चारमा आयौँ ?

by -सुनैना कार्की


‘अन्तरयात्रा’ केवल अर्को समाचार पोर्टल होइन। यो आत्माको एउटा आवाज हो, सत्यका पक्षमा उभिएको पत्रकारिताको एक आध्यात्मिक प्रयास हो। भीडमा हराउने या संसारिक हल्लाको पछि लाग्ने हाम्रो उद्देश्य हुँदै होइन; तर प्रभुको मार्गमा, सत्यको सेवामा र जीवनको यात्रामा ख्रीष्टको आत्माको अगुवाइमा अघि बढ्नु नै हाम्रो दृष्टि हो।

हामी कुनै संस्थागत राजनीति या दलीय विचारधारामा जकडिएको सञ्चार होइनौँ। हाम्रो केन्द्रबिन्दु ख्रीष्ट हुनुहुन्छ। उहाँको राज्य, उहाँको मूल्य, उहाँको प्रेम र न्याय हाम्रो मूल प्रेरणा हुन्। 'पृथ्वीमा उहाँको राज्य आओस्' भन्ने प्रार्थनालाई पत्रकारितामार्फत मूर्त रूप दिन हामी अघि बढेका छौँ।

‘अन्तरयात्रा’ ख्रीष्टियन मञ्च मात्र होइन, यो एउटा आत्माको संवाद हो जहाँ येशू ख्रीष्टका अनुयायीहरूका आवाजहरू, संघर्षहरू, गवाहीहरू र जागरणहरू विश्वसनीय, संयमित र आत्मिक दृष्टिकोणबाट प्रस्तुत गरिन्छन्। यहाँ समाचारहरू केवल सूचना होइनन्, सत्यतर्फको आह्वान हुन्। यहाँ विचारहरू केवल मत होइनन्, आत्मा स्पर्श गर्ने उद्घोष हुन्।

हामीले पत्रकारितालाई सेवा (प्रभुको सेवामा, सत्यका सेवामा, मानिसका सेवामा) मान्दछौँ। न्याय, दया र विनम्रता साथ परमेश्वरसँग हिँड्न हामी बोलाइएका छौँ (मीका ६:८)। अनि यही बोलावटले हामीलाई ख्रीष्टमा जरा गाडेर, आत्मिक संवेदनशीलता सहित, विश्वासयोग्य सञ्चारको यात्रा सुरु गराउन प्रेरित गरेको हो।

यस यात्रामा ‘अन्तरयात्रा’ को भूमिकालाई कुनै पनि प्रकारको निषेध, वैचारिक पक्षपात वा असहिष्णुताले ओझेल पार्न सक्दैन। ख्रीष्टको प्रेम सबै सीमाभन्दा माथि छ अनि त्यो प्रेममा हामी सबै विचार, वर्ग र समुदायलाई स्वागत गर्छौं। हामी खुला संवाद, प्रार्थनामूलक सोच र आत्मिक परिपक्वताको साझा मञ्च हौँ।

यसकारण ‘अन्तरयात्रा’ तपाईंको समाचार स्रोत मात्र होइन, तपाईंको आत्माको सहयात्री हो। यात्रा सूचनाको मात्र होइन तर रूपान्तरणको हो। हाम्रो यात्रा केवल दृष्टिकोण परिवर्तनको होइन, आत्मा परिवर्तनको हो।

यसैले हामी तपाईंलाई आह्वान गर्दछौँ, हामीसँग आत्माको यो यात्रामा सहभागी भइ सत्यमा, प्रेममा र ख्रीष्टको ज्योतिमा सँगै हिँडौँ।


प्रतिक्रिया