२९असार, ललितपुर । सोमबार संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको बैठक बसेको छ । ललितपुरको नख्खु दोबाटोस्थित बल्खुको बैठक हलमा नेपाली ख्रिष्टियन समुदायका साझा मामिलाहरुका बारेमा सर्वदलीय विचार विमर्श सहित बैठक बसेको हो ।
उक्त सर्वपक्षीय भनिएको बैठकमा तीन दल र तिनका पदाधिकारीहरूः राष्ट्रिय मुक्ति आन्दोलनका अध्यक्ष जयवन्त शाह, जनजागरण पार्टी नेपालका अध्यक्ष डा= बि=पी=खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद न्यौपाने, संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीसहित उपाध्यक्षत्रय कमल पुर्जा, जीतबहादुर घले, शैलेष दिनदयाल, महासचिव प्रेम बहादुर कार्की, उपमहासचिवहरू विदुर अधिकारी र सोमबहादुर आलेलगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता पाष्टर उत्तम परियार र सहजीकरण युएनएनसिसीका राष्ट्रिय संयोजक भव घलेले गर्नुभयो । बैठकमा सञ्चारकर्मीहरु, समाजसेवी र अभियन्तासहित विभिन्न संघसंस्थाहरूका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रह्यो ।
बैठकमा विगत वर्षभरिका कार्य प्रगति प्रतिवेदन प्रस्तुति, नवनिर्वाचित पोप लियो चौधौँलाई बधाई तथा शुभकामना सन्देश ज्ञापन, समलिङ्गी विवाह विरुद्ध साझा अभियान, संविधान संशोधनको होहल्लाको पृष्ठभूमि र मिसन २०८४ को रणनीतिक तयारी, अन्तर्धार्मिक गोलमेच सम्मेलन २०८३, प्राकृतिक विपदका विषयमा तयारी एजेण्डा प्रस्तुत गरिएका हुन् ।
उपस्थित प्रतिनिधिहरूले कुनै छेकबार नराखी बेवाक आफ्ना विचारहरू प्रस्तुत गरेको उक्त बैठकमा एकअर्काको आलोचना र व्यंग्य समेत सुनिए । परिषद्को बैठक एक साझा र प्रभावकारी मञ्च भएकाले सबै विचारहरू स्वतन्त्र रूपमा व्यक्त गरिने मौका सबैलाई प्राप्त भयो ।
बैठकका निर्णयहरू
केही छुटेका बुँदाहरू र उपलब्धिहरू समावेश गरी प्रगति प्रतिवेदनलाई अनुमोदन गरियो, जसअनुसार विगत वर्षभरिमा युएनएनसिसीले देशभित्र र बाहिर म्यान्मारका भूकम्प पीडितहरूका लागि पहिलो पटक नेपालका ख्रिष्टियन समुदायको तर्फबाट समन्वय गरी राहत पठाउन सफल भयो । गुठी सम्बन्धी विवाद समाधानका लागि विज्ञ अधिवक्ताहरूमाझ बहस चलायो । क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको लगायत अन्य विविध बैठकहरू समन्वय गरेको प्रतिवेदनका थप सुझावहरूसहित पारित गरिएको छ ।
पोप लियो चौधौँलाई नेपाली क्रिश्चियन समुदायको तर्फबाट बधाई तथा शुभकामना सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संयुक्त नागरिक पार्टीलाई नागरिक सरोकार नेपालसँग समन्वय गर्ने र समलिङ्गी मुद्दा विरुद्धको अभियान आयोजना गर्ने जिम्मेवारी दिएको छ ।
संविधान संशोधन र मिसन ८४ का सम्बन्धमा चासो बढिरहेको पृष्ठभूमिमा त्यस सम्बन्धी भेला बैठक आयोजना गर्ने जिम्मेवारी जनजागरणा पार्टी नेपाललाई दिइएको छ जसको नेतृत्व डा= बि= पी= खनालले गर्नुहुनेछ ।
बैठकका क्रममा व्यक्त गरिएका विचारहरू सबै समुदाय राष्ट्रको हितमा गरिएका सरोकार हुन् भन्ने तथ्य स्मरण गर्दै गराउँदै संयोजकद्वारा धन्यवाद, सभाध्यक्षद्वारा निष्कर्ष मन्तव्य तथा धर्मसेवक अर्जुन कुमार मेन्डिजद्वारा समापनको प्रार्थनासहित बैठक समापन भएको हो ।